भवनाथ सडौला
१. जीवनी
१.१ जन्म र परिवार
नेपाली साहित्यको संरक्षण, संवर्धन एवं समुन्नतिमा निरन्तर साधनारत स्रष्टाहरूको सूचीमा कृष्णप्रसाद पराजुलीको नाम अग्रस्थानमा लिन सकिन्छ । नेपाली साहित्यमा स्नातकोत्तर नभए पनि त्रि० वि० का मानार्थ सहप्राध्यापकसम्म रही स्नातकोत्तर तहमा नै पठनपाठन गराएका पराजुलीले छ दशक लामो साहित्यसेवा गरी चालीसभन्दा बढी पुस्तक रचना गरेका छन् । यस्ता सृजनशील प्रतिभा कृष्णप्रसाद पराजुलीको जन्म वि० सं० १९९२ असार २४ गते काभ्रे जिल्लाको रमणीय गाउँ भमरकोटमा भएको हो । गाउँमा जिमुवालसमेत रहेका पिता पशुपतिप्रसाद र माता महादेवीका चार छोरा (रत्नप्रसाद, कृष्णप्रसाद, उद्धवप्रसाद र गोविन्दप्रसाद) र चार छोरी (सान्नानी, इन्दिरा, चन्द्रिका र सरस्वती) मध्ये माहिलो छोराका रूपमा सात महिनामा नै जन्मेका पराजुलीको चूडाकर्म आठ वर्ष नपुग्दै वि० सं० १९९९ माघमा आफ्नै घरमा वैदिक विधिअनुसार भएको हो ।
सात सालअघिको समाजमा रहेको सानै उमेरमा विवाह गर्ने परम्पराअनुसार कृष्णप्रसाद पराजुलीको विवाह बार्ह वर्ष पुगी तेर्ह लाग्दाकै उमेरमा काभ्रे पूmलबारी बुचाकोटका कृष्णराज कुइँकेलकी नौ वर्ष लागेकी छोरी नीरादेवीसँग भयो । पराजुलीका तीन छोरी शारदा, शान्ता र शाम्भवी तथा तीन छोरा श्याम, शाश्वत र सौजन्य गरी छ सन्तान जन्मे पनि जेठो छोरा श्यामको वि० सं० २०२२ मा असामयिक निधन भएपछि त्यही पुत्रशोकबाट विह्वल भई उनले कथा आ“सुको… (शोककाव्य) लेखे । कान्छो छोरा सौजन्यको सम्झना केही कमजोर भएकाले साक्षर मात्रै भए पनि अरू सबै सन्तान तीक्ष्ण बुद्धिका छन् । छोरीहरू ठूली शारदा आई० ए० सम्म, माहिली शान्ता बी० एड० र कान्छी शाम्भवी एम० ए० (नेपाली) छन् । तीनवटै छोरी शिक्षणसेवामा छन् । छोरा शाश्वत एम० ए० (अर्थशास्त्र) हुन् । छोरी र छोराहरूसबैको विवाह भई घरबारसमेत गरिसकेका छन् । जेठो छोरो शाश्वत ‘कान्तिपुर’ को बालपत्रिका कोपिलाका संयोजक-सम्पादक रहेका हुन्, हाल परिवारसहित अमेरिकामा बस्छन् र त्यहाँबाट समेत शैली नेपाल, नमस्ते आदि निकालेका छन् । वि० सं० २०२६ मा भोटेबहालमा सुनगाभाबस्तीमा जग्गा किनी घर बनाएर २०५८ सम्म त्यहीँ बसेका पराजुली हाल परिवारका साथ सानेपा, ललितपुरको घरमा बस्दै जीवन बिताइरहेका छन् ।
१.२ शिक्षादीक्षा
कृष्णप्रसाद पराजुलीले पाँच वर्ष पुगेपछि आफ्नै घरमा बाबु पशुपतिप्रसादबाट अक्षरारम्भ गरेका हुन् तापनि पहाडमा विद्यालयको अभाव भएकाले वि० सं० २००३ मा दाजु र मामाका छोराको साथ लागी काठमाडौँ आएर रानीपोखरी संस्कृत पाठशालामा भर्ना भई औपचारिक शिक्षाको थालनी गरेका हुन् । संस्कृत परम्परामा पढाइ सुरु गरे पनि २००७ देखि अङ्ग्रेजी पढ्न थालेका पराजुलीले दिउँसो काम गरी रात्री पाठशालामा पढ्न थाले । अध्ययनका क्रममा भानु मा० वि० स्थित उच्च शिक्षालयमा भर्ना भएका पराजुलीले नेपाली साहित्यका विशिष्ट विद्वान्हरू देवकोटा, सम, पुष्करशमशेर, रुद्रराज पाण्डे आदिबाट शिक्षार्जन गर्ने मौका पाए र समसामयिक स्थिति तथा उनीहरूकै प्रभावबाट समेत लेखनमा प्रवृत्त भइरहन थाले । दिनभरि काम गरी राति पढ्नुपर्ने बाध्यता, २००९ मा आमाको निधनबाट भएको मातृशोकजस्ता प्रतिकूल परिस्थितिबाट पराजुलीले पढाइमा निरन्तर प्रगति गर्न सकेनन् तापनि परिस्थितिसँग जुध्दै वि० सं० २०१० मा प्रवेशिका, २०१३ मा विशारद र २०२० मा साहित्यरत्न प्रथम श्रेणीमा उत्तीणर् गरे । औपचारिक शिक्षा साहित्यरत्न (स्नातक अनर्ससरह) मात्र भए पनि स्वाध्ययन र भाषासाहित्यको सेवा गरेका कारण उनले त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक भई स्नातकोत्तर तहसम्म अध्ययन गराउन सफल भएका हुन् भने विभिन्न गोष्ठीमा विशेषज्ञका रूपमा सहभागी भएका छन् ।
१.३ कार्यक्षेत्र र सेवा
दस-एघार वर्षको कलिलो उमेरमा नै रहरले काठमाडौँ पसेका पराजुली किशोर उमेरदेखि नै कार्यक्षेत्रमा प्रवेश गरेका हुन् । दिनभरि काम गरी रात्रि स्कुलमा पढ्ने पराजुलीले काठमाडौँका साथै आफ्नो गाउँ र जिल्लामा सामाजिक साहित्यिक संस्थाको स्थापना एवं सञ्चालन गर्ने काममा महत्त्वपूणर् योगदान गरेका छन् ।
आपूm काठमाडौँमा बसे पनि पराजुली कार्यव्यस्तताबाट फुर्सद लिई गाउँमा गई विद्यालय खोल्ने, पुस्तकालय स्थापना गर्ने, पत्रिका प्रकाशनकार्यमा सक्रिय रूपमा लागी गाउँघर घुमेर जनमानसलाई सचेत बनाउने प्रयास गर्थे । यस क्रममा वि० सं० २००८ मा भमरकोटमा गणेश प्रा० वि० र कोटदेवी प्रा० वि० को सञ्चालक समितिमा सदस्य रही उक्त विद्यालयको स्थापना गर्नमा, २०१३ मा भमरकोटमा जागृति पुस्तकालयको स्थापना गर्नमा, २०१६ मा पूर्व एक नम्बर जिल्ला पुस्तकालय सङ्घको स्थापना गर्नमा, २०१६ मा बनेपाबाट ‘चिराक’ मासिक र २०१७ मा धुलिखेलबाट ‘पालुवा’ पत्रिकाको प्रकाशन गर्नमा सक्रिय भूमिका खेलेका पराजुलीले काभ्रे जिल्लाबाट काठमाडौँ आई बसोबास गर्ने पेसाकर्मीहरूको सङ्गठन ‘काभ्रेली परिवार’ (२०४४) र सुनकोसी साहित्य प्रतिष्ठान (२०५०) का संस्थापक अध्यक्ष भई उक्त संस्थाहरूको निर्माण र सञ्चालनमा प्रमुख योगदान गरेका छन् ।
यता काठमाडौँमा वि० सं० २०१३ तिर नेपाल पुस्तकालय सङ्घका सङ्गठन मन्त्री, वि० सं० २०१६ मा प्रगतिशील लेखक सङ्घको कार्यकारी सदस्य भएका पराजुलीले वि० सं० २०१७ देखि रायल नेपाल एकेडेमी (हाल नेपाल प्रज्ञाप्रतिष्ठान) को साहित्य विभागमा रहेर प्रकाशनसम्बन्धी र २०२१ पछि कविता विभागअन्तर्गत रही कविता त्रैमासिक पत्रिकाको सहसम्पादन तथा कवितायोजनासम्बन्धी कार्यालयीय काम गरे । एकेडेमीको त्रिवर्षीय कविता योजना सकिएपछि २०२४ भदौदेखि अवकाश पाए पनि एकेडेमीको रजतजयन्तीको अवसरमा प्रकाशित नेपाली उखान र गाउ“खाने कथाको लेखन र नेपाली बृहत् शब्दकोशको सम्पादनमा पराजुलीको महत्त्वपूणर् कार्य गरे ।
एकताका आफ्नो सबैभन्दा ठूलो कार्यक्षेत्र नेपाल राष्ट्रिय विद्यापीठलाई मान्ने पराजुलीले वि० सं० २०२१-२०३० सम्म यस संस्थामा रहेर रात्रि शिक्षणसंस्थाको प्रधानाध्यापक/प्रधानाचार्यका साथै विद्यापीठबाट सञ्चालन हुने प्रवेशिका, विशारद र साहित्यरत्न परीक्षामा उपकेन्द्राध्यक्ष, केन्द्राध्यक्ष, उच्च केन्द्राध्यक्ष र सहरजिस्ट्रारका साथै विद्यापीठबाट प्रकाशित हुने सामयिक पत्रिका नेराविको मुख्य सम्पादक भई कार्य गरेका छन् ।
वि० सं० २०२५-२०२७ सम्मका दुई वर्ष त्रिभुवन स्मारक समितिमा रहेर पराजुलीले करिब ८०० पृष्ठको श्री ५ त्रिभुवन स्मृतिग्रन्थ (२०२७) को सम्पादन र प्रकाशन गर्नुका साथै २०२८-२०३६ सम्म जुद्धोदय मा० वि० मा शिक्षणकार्य गरे । वि० सं० २०३६ देखि त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेका पराजुली केही समय त्रिचन्द्र बहुमुखी क्याम्पस र त्यसपछि नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा रही विभागको शैक्षिक-प्राज्ञिक उन्नयनमा निरन्तर लागिरहे । यस क्रममा विभागको प्राज्ञिक पत्रिका वाङ्मयको सहसम्पादन गर्नुका साथै २०४१ देखि केही समय काजमा पाठ्यक्रम विकासको सम्पादन गरे । उमेरहदका कारण वि० स० २०५५ असारदेखि विश्वविद्यालय सेवाबाट अनिवार्य अवकाश लिए पनि प्राज्ञिक सेवाको कदरस्वरूप केही समय सोही पदमा करारमा रही कार्य गरेका पराजुली स्वास्थ्यका कारण वि० स० २०५८ असारदेखि सेवानिवृत्त भई घरमा नै रहेर नेपाली भाषासाहित्यको सेवा गर्दै छन् । यस क्रममा पछिल्लो चरणमा उनी आफ्ना छरिएर रहेका कविता, लेख-मन्तव्य, अन्तर्वार्ताको सङ्कलन-प्रकाशनका साथै प्रकाशित पुस्तकहरूको परिमार्जनमा लागे र हाल आफ्नै आत्मकथा लेखिरहेका छन् ।
१.४ लेखन र सम्पादन
सानै उमेरदेखि गाउँघरमा चाडपर्वमा गाइने लोकगीत, बिहेबटुलोमा गाइने श्लोक, घरमा भाका हालेर बाबुले पढ्ने रामायण र महाभारत सुनेर आनन्दित हुने कृष्णप्रसाद पराजुली २००३ सालमा काठमाडौँ आई पहिले रानीपोखरी संस्कृत पाठशालामा र पछि दरबार हाई स्कुलको उच्च शिक्षालयमा भर्ना भएर पढ्न थालेका थिए र देवकोटा, समजस्ता विद्वान् गुरुहरूको संसर्गबाट र २०११ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको रथयात्रामा उत्साहित भएर नारा लगाउँदै हिँडेपछि लेखन र साहित्यिक गतिविधिमा अझै बढी संलग्न र सक्रिय हुन थाले । यिनै साहित्यिक पृष्ठभूमिका साथै २००७ सालको जनक्रान्तिले ल्याएको उत्साहप्रद वातावरणबाट पनि प्रेरित भएर नेपाली साहित्यमा प्रवेश गरेका पराजुलीका फुटकर रचना २०११ देखि प्रकाशित हुन थालेपछि पुस्तकाकार कृति २०२२ देखि प्रकाशन भएका छन् । २०२२ पछि हालसम्म उनका कथा, कविता-काव्य, निबन्ध-प्रबन्ध, बालसाहित्य, लोकसाहित्य एवं भाषाव्याकरणका साढे तीन दर्जन कृति प्रकाशित भएका छन् ।
१.५ सम्मान र पुरस्कार
विद्यार्थी अवस्थामा विभिन्न साहित्यिक प्रतियोगितामा विजयी भई पुरस्कृत भएका पराजुलीको ‘बेचैन’ कथा २०१३ मा पूर्व एक नम्बर जिल्लाव्यापी कविसम्मेलनमा प्रथम, २०१६ मा खोपासीमा सम्पन्न काभ्रे जिल्लाव्यापी कवि-सम्मेलनमा कवितामा प्रथम पुरस्कृत भएका र २०२२ सालमा सर्वोत्कृष्ट कविता स्वणर्पदक गरेका छन् । उनको ‘हिमाली डाँफे’ पुस्तकले २०४४ मा उत्कृष्ट बालसाहित्य पुरस्कार गरेको र २०४५ मा बालहितकारी पुरस्कार गरेका पराजुलीले राष्ट्रिय शिक्षा पुरस्कार (२०४७), छिन्नलता गीत पुरस्कार (२०४८), वर्ष पुरुष घोषित (२०५१) आदि गर्नुका साथै विभिन्न साहित्यिक-सामाजिक संस्थाबाट सम्मानित भएका छन् । सर्वश्रेष्ठ रूपमा उनले गरिमामय पुरस्कार ‘जगदम्बाश्री’ (२०६४) गरिसकेका छन् ।
२. व्यक्तित्व
नेपाली साहित्यमा छ दशक लामो साधना गरी बयालीसवटा मौलिक पुस्तकका साथै डेढ दर्जन पत्रिका र ग्रन्थकृतिको सम्पादन गरेका कृष्णप्रसाद पराजुली जीवनप्रति सकारात्मक दृष्टि भएका; त्याग, तपस्या, लगन र दृढतामा विश्वास राख्ने कर्मवादी स्रष्टा हुन् । सधैँ केही लेखूँ, केही पढूँ, केही घुमूँ, केही सुनूँ, केही बोलूँ अनि केही खोलूँ भन्ने चाहना राख्ने र चुप लागेर नबसी लेखेर नै सन्तुष्टि लिन चाहने पराजुलीको लेखकीय व्यक्तित्वलाई निम्नानुसार अध्ययन गर्न सकिन्छ ।
२.१ कवि/गीतकार
आफ्नो लेखकीय ऊर्जाको मूल स्रोत कवितालाई नै ठान्ने अनि सरल, सरस, सुबोध्य र संवेद्य कविता रचना गर्न मन पराउने पराजुलीलाई कवि/गीतकारका रूपमा चिनाउने सात पुस्तक छन् । आ“खाभरि सपना मुटुभरि गीत, मन सुसाउ“दै छ र ह्दयका पानास“गै गीतसङ्ग्रह, सय थु“गा पूmल मुक्तकसङ्ग्रह, बादलका बुट्टाहरू, आकाश माटोमाथि कवितासङ्ग्रह तथा कथा आ“सुको शोकगीतिकाव्य पराजुलीका काव्यकृति हुन् । आधुनिक पाश्चात्य गीत र सङ्गीतभन्दा नेपालीपन भएका गीत र कविता रचना गर्ने पराजुलीका रचना पाठकको मन छुनाका साथै हृदय पगाल्छन् । उनका कविताको विषय राष्ट्रप्रेम, प्रकृतिचित्रण, मायाप्रीति र जीवनभोगाइसँग सम्बन्धित हुन्छन् भने प्रस्तुति छन्दोबद्ध, लोकलयात्मक, गेयात्मक खालका हुन्छन् ।
२.२ कथाकार
कथाकारका रूपमा पराजुलीलाई चिनाउने दुई कृति नौबेली (२०२८) र जीवनबेली (२०५८) प्रकाशित छन् । ‘नौबेली’ मा युवावस्थाका मायाप्रीति, अल्लारे जीवनको सोच र परिणाम, जीवनका गति-प्रगतिका आकाङ्क्षा तथा चाहना प्रतिविम्बित छन् भने सामाजिक अन्याय-अत्याचारको विरोध पनि गरिएको छ । नौबेली प्रकाशन भएको तीस वर्षपछि प्रकाशित भएको जीवनबेली कथासङ्ग्रहमा आफ्नो लेखकीय जीवनबाट खारिएका प्रौढ मस्तिष्कबाट सिर्जित सामाजिक विषयका साथै जीवनका विभिन्न उतारचढाव आख्यानीकृत भएर व्यक्त भएका छन् । अन्य विधाका तुलनामा उनको कथाकारव्यक्तित्व केही कम चर्चित देखिन्छ ।
२.३ निबन्धकार
नेपाली निबन्धका विविध पक्ष (खोजअन्वेषण, निजात्मक, अन्तर्वार्ता, संस्मरण, मन्तव्य) मा पराजुलीले आफ्नो लेखकीय जीवनप्रतिको धारणा, अग्रज स्रष्टाप्रतिको सम्मानका साथै लोकगीत र नेपाली उखान र गाउँखाने कथाको खोजपूणर् अध्ययन गरेका छन् । पूर्व एक नम्बर (२०२२) उनको प्रकाशित पहिलो कृति हो जसमा पराजुलीले आपूm जन्मेको जिल्ला (काभ्रे र सिन्धुपाल्चोक) को खोजमूलक चिनारी गराएका छन् । पन्ध्र तारा र नेपाली साहित्य (२०२४) मा नेपाली साहित्यका अग्रज पन्ध्र स्रष्टाको जीवनीपरक अध्ययनका साथै नेपाली साहित्यको संक्षिप्त इतिहासमा प्रकाश पारिएको छ । सम्झनाका क्षितिजमा (२०५९) मा एकाउन्न जना स्रष्टाको संस्मरण गरिएको छ । देउरालीबाट (२०५८) र अर्को देउरालीबाट (२०६४) मा लेखकले विभिन्न स्थानमा दिएका आफ्ना लेखमन्तव्य समाविष्ट गरेका छन् भने चिन्तनका विम्बभित्र
(२०५८) र फेरि चिन्तनका विम्बभित्र (२०६४) मा आपूmसँग विभिन्न व्यक्तिले लिएका अन्तर्वार्ताहरू सङ्कलन गरेका छन् । यी स्वतन्त्र गद्यात्मक कृतिहरूमा पराजुलीको स्वच्छ छवि, निरन्तर गतिशीलता र सृजनात्मक निष्ठता अभिव्यक्त भएका छन् । जीवनका सुखदुःख र उकालीओरालीलाई विषय बनाई नदीजस्तै सल्ल बगेको प्रस्तुति र सरल तर स्तरीय प्रयोग पराजुलीका निबन्धमा पाइने विशेषता हुन् ।
२.४ भाषा-व्याकरणकार
राम्रो रचना ः मीठो नेपालीका रचनाकारका रूपमा धेरै समयसम्म विद्यालय र क्याम्पसमा व्याकरण पढ्ने विद्यार्थीहरूका बीच परिचित पराजुलीले भाषाव्याकरणजस्तो कठोर र रूखो विषयलाई नेपालीपन सुहाउँदो रूपमा राम्रो रचना गरेका छन् । भाषा-व्याकरणमा पराजुलीले पाँच पुस्तक रचना गरेका छन् । विशेष गरी उनको यी व्याकरणात्मक कृतिहरू व्याकरणका प्रयोगमूलक शैलीमा रमेका महत्त्वपूणर् कृतिका रूपमा उल्लेख्य छन् र सन्दर्भ/पाठ्यपुस्तकसमेत मानिन्छन्, किनभने सरल प्रस्तुति र मीठो भाषा यी रचनाका मूल वैशिष्ट्य हुन् ।
२.५ बालसाहित्यकार
नानीहरूका कविका रूपमा चिनिने पराजुलीका व्यक्तित्वको प्रमुख पाटो बालसाहित्यलेखन हो । संसारमा सबैभन्दा ठूलो आनन्द बालजीवनमा पाइन्छ, यो एक निश्छल जीवन हो, ममा पनि बालस्वभाव बाँकी नै छ भन्ने सेतै फुलेका ७४ वर्षे प्रौढ कवि पराजुली अझै बालकजस्तो भएर लहडिँदै बालगीत, कविता र कथा रचना गर्छन् । बालसाहित्यमा सोह्रवटा प्रमुख पुस्तक रचना गरिसकेका पराजुलीका रमाइला नानी पन्ध्र लाख प्रति बिक्री भइसकेका छन् भने हिमाली डा“फेले उत्कृष्ट बालसाहित्य पुरस्कार गरेको छ । यसै गरी सुनौला तीन कुरा कथा एसियाली उत्कृष्ट बालकथामा छानिएको छ । आपूm स्वयं बालक बनेर गुनगुनाउँदै रचिएका पराजुलीका बालरचनाले बालबालिकाका कलिला मथिङ्गल हल्लाउनुका साथै चरित्रवान् बन्ने सन्देश दिएका छन् ।
२.६ खोजअन्वेषक
पराजुलीका अन्वेषणात्मक व्यक्तित्वको निर्माणमा नेपाली भाषासाहित्य र लोकसाहित्यको स्वतन्त्र अध्ययन र मननले प्रमुख भूमिका खेलेको छ । नेपाली लोकगीतको आलोक (२०५७) मूलतः नेपाली लोकगीतको सिद्धान्त, विशेषता र वर्गीकरण गरिएको तथा नेपाली उखान र गाउ“खाने कथा (२०३९) उखान र गाउँखाने कथाको सैद्धान्तिक विवेचनाका साथै वणर्ानुक्रमिक रूपमा उखान र गाउँखाने कथाको सङ्कलन गरिएको खोजमूलक कृति हुन् । यस्तै पूर्व एक नम्बर मा काभ्रे र सिन्धुपाल्चोक जिल्लाको खोजमूलक विवरण प्रस्तुत छ । पराजुली नेपाली साहित्यमा खोजमूलक समालोचक हुँदै हुन्, आपूmले अध्ययन गरेको तथ्यलाई मौलिक विचारका साथ प्रस्तुत गर्ने अन्वेषणमूलक स्रष्टासमेत मानिन्छन् ।
२.७ सम्पादक
आधा दर्जनजति पुस्तकाकार ग्रन्थ र एक दर्जनजति साहित्यिक पत्रिकाको सम्पादन गरिसकेका पराजुलीको सम्पादकीय व्यक्तित्व क्रियात्मक र व्यावहारिक दुवै दृष्टिले उच्च मानिन्छ । मौलिक लेखनबाट खारिएको प्रौढ र परिष्कृत भाषा, कलात्मक प्रस्तुति अनि आकर्षक छविसज्जा तथा रूपाङ्कन (डिजाइन) उनका सम्पादकीय कला हुन् ।
२.८ स्रष्टा र द्रष्टा व्यक्तित्वमा सहसम्बन्ध
जीवनयात्रामा देखा परेका अनेक परिवेशगत मोडबाट कृष्णप्रसाद पराजुलीका उपर्युक्त विविध व्यक्तित्वको निर्माण भएको हो । उनको सामाजिक-सांस्कृतिक व्यक्तित्वको निर्माणमा बाह्य परिवेशले बढी प्रभाव पारेको पाइन्छ भने निजी प्रतिभा, क्रमिक लेखन र साधनारत प्रयासबाट खारिँदै गएको अनुभव तथा अध्ययन-मननबाट उनको साहित्यिक र भाषाव्याकरणकार व्यक्तित्व निर्माण भएको देखिन्छ । साहित्यकार व्यक्तित्वमा पनि स्रष्टाव्यक्तित्वको निर्माणमा उनको प्रतिभा र साधनाशीलता अनि द्रष्टाव्यक्तित्वको निर्माणमा प्राज्ञिक सङ्गत तथा चिन्तनशीलता र अध्ययन-मननले भूमिका खेलेको पाइन्छ । स्रष्टाव्यक्तित्वले अनुभूति तथा सूक्ष्म दृष्टिका तहबाट द्रष्टाव्यक्तित्वलाई प्रभावित पारेको छ भने द्रष्टाव्यक्तित्वले लेखनप्रतिको इमानदारीलाई सचेत गराई स्रष्टाव्यक्तित्वलाई सक्रिय गराइरहेको पाइन्छ । यसरी पराजुलीको द्रष्टाव्यक्तित्व सामाजिक र राष्ट्रिय पृष्ठभूमिको चिन्तन तथा क्रियात्मकतामा उन्मुख छ भने उनको स्रष्टाव्यक्तित्वचाहिँ लेखनका माध्यमले तिनै विषयवस्तु तथा भाव वा विचारलाई अभिव्यक्त गर्दै सृजनात्मकतामा गतिशील रहेको छ ।
निष्कर्षमा सामाजिक सक्रियता, मौलिक चिन्तन, वैचारिक सचेतता तथा अन्वेषणमूलक प्रवृत्ति उनका द्रष्टाव्यक्तित्वमा पाइने विशेषता हुन् भने लेखाइमा आफ्नै किसिमको पन, स्पष्ट अभिव्यक्ति, राम्रो, मीठो र सरल शैली उनका स्रष्टाव्यक्तित्वमा पाइने वैशिष्ट्य हुन् । जीवनका झन्डै दशकसम्म कार्यक्षेत्रमा सक्रिय रहँदै आएका कृष्णप्रसाद पराजुलीमा रहेको निरन्तरको साधनाशीलता र सृजनात्मकता तथा उनमा निहित सामाजिक भावना र सेवामय गुणहरूको समन्वय प्रेरणाप्रद रहेको अनुभव हुन्छ । बोलेर भन्दा पनि काम गरेर देखाउने उनको स्वभावले उनको निजी व्यक्तित्वको छवि सार्वजनिक रूपमा चिन्तनशील, सृजनधर्मी तथा गतिशीलतामा विश्वास गर्ने निष्ठावान् साधकका रूपमा स्थापित गराएको छ ।
२.९ जीवनदर्शन
हरेक सचेत व्यक्तिले जनसेवा र कार्यक्षेत्रमा उत्रनुका साथै देशमा राष्ट्रिय सांस्कृतिक अभियान थालिनुपर्छ अनि हाम्रो सांस्कृतिक परम्परालाई परिष्कृत, परिमार्जित र विपुल पार्नुपर्छ भन्ने उनको विचार रहेको छ । सृजनालाई प्रगति र परिवर्तनको सङ्केतका रूपमा लिनु तथा जीवन र समाजलाई युगसापेक्ष रूपमा हेर्न चाहनु साहित्यकार कृष्णप्रसाद पराजुलीको मूल जीवनदर्शन हो । जीवनप्रतिको मङ्गल कामना सत्य र सुन्दरताको माझमा उद्घाटित हुन्छ भने उनको धारणा देखिन्छ । प्रारम्भदेखि हालसम्म उनले यिनै यथार्थ र शाश्वत सत्यलाई आफ्ना रचनाहरूमा अभिव्यक्त गर्ने प्रयास गर्दै आएका छन् ।
सुरुदेखि नै शिक्षा, साहित्य एवं संस्कृतिमा अभिरुचि राख्ने पराजुलीले जीवनको लामो अंश नेपाली भाषासाहित्यको सेवामा बिताएका छन् । निरन्तरको साधना र स्वाध्ययनले नेपाली साहित्यको परम्परा तथा वर्तमानसम्मको जानकारी भई उनको साहित्य चेतना परिपुष्ट भएको छ । उनका विचारमा जीवन र साहित्यको सम्बन्ध नङ-मासुको जस्तै छ, स्वस्थ साहित्यमा जीवनको प्रतिविम्ब उत्रेको हुन्छ र साहित्यले नै जनजीवनलाई दिशाबोध गराउन सक्छ । साहित्यिक सृजना मानिसको अस्तित्वरक्षा र उसको मङ्गलमय प्रगतिसँग सम्बद्ध रहने हुनाले नै मानिसको साहित्यप्रतिको आकर्षण चिरस्थायी र व्यापक बनेको हो भन्ने कुरामा उनी विश्वास राख्छन् । उनी साहित्यमा नै जीवनका मार्मिकता, घात-प्रतिघात तथा सौन्दर्य-चेतनाको तीव्र अभिव्यक्ति हुन सक्ने ठान्दछन् । बाह्य रूपमा जीवनका कल्याणमय भौतिक पक्षलाई महत्त्व दिन चाहने पराजुली आन्तरिक रूपमा नैतिकता, इमानदारी र वैचारिकताप्रति आस्थावान् देखिन्छन् । उनका विचारमा साहित्यकार स्रष्टा मात्र नभई द्रष्टा पनि हो र उसले आफ्ना शिल्प र अभिव्यक्तिद्वारा नयाँ समाजको रचना गर्न तथा दिशाबोध गराउन सक्छ । मूलतः साहित्यकारको नैतिकताको निर्धारण सामाजिक दायित्व र लेखकीय दायित्वबाट गर्न सकिन्छ । सामाजिक दायित्वअन्तर्गत लेखकले आफ्नो समाज र आपूm बाँचेको परिवेशप्रति इमानदार भएर बहुसङ्ख्यक जनताको हितमा आफ्ना अभिव्यक्ति पोख्छ भने लेखकीय दायित्वअन्तर्गत उसले सृजनात्मक र कलात्मक शैलीमा स्वस्थ र जीवन्त रूपमा आफ्ना भावनाहरू अभिव्यक्त गर्नुपर्छ । यसरी अभिव्यक्ति र शैली दुवै कोणबाट समाजमा साहित्यकारको महत्त्व रहन्छ भन्ने उनको दृष्टिकोण रहेको पाइन्छ ।
यस प्रकार कृष्णप्रसाद पराजुलीको व्यक्तित्व स्रष्टा र द्रष्टा दुवै रूपमा प्रशंसनीय मानिन्छ । लेखाइमा आफ्नोपन, स्पष्ट अभिव्यक्ति, राम्रो, मीठो र सरल शैली उनका स्रष्टाव्यक्तित्वमा पाइने विशेषता हुन् भने मौलिक चिन्तन, वैचारिक सचेतता, अन्वेषणात्मक दृष्टिकोण अनि कलात्मक प्रस्तुति द्रष्टाव्यक्तित्वमा पाइने प्रवृत्ति हुन् ।
३. निष्कर्ष
जीवनलाई ढुङ्गाजस्तो स्थिर होइन, खोलाजस्तो सदा बगिरहने गतिशील प्रवाहका रूपमा लिने कृष्णप्रसाद पराजुली नेपाली भाषासाहित्यका एक अथक परिश्रमी स्रष्टा हुन् । साहित्य समाजका लागि लेखिनुपर्छ, साहित्यकार समाजकै नागरिक हो र वास्तविक साहित्यले समाजलाई दिशानिर्देश गर्नुपर्छ भन्ने पराजुली जीवन र साहित्यलाई नङमासुको सम्बन्धजस्तो ठान्दछन् । आपूm कहिल्यै भाग्यमा विश्वास नगर्ने तथा सिर्जना र साहित्यलाई नै आफ्नो रुचि ठान्ने पराजुली लेख्नलाई विचार चाहिन्छ; विचार शून्य भएको लेखकको अर्थ रहँदैन भन्ने ठान्दछन् ।
आपूm सात महिनामा जन्मेका, सानोमा पनि रोगाइरहने, तेर्ह-चौध वर्षदेखि आफ्नै खुट्टामा उभिन बाध्य भएका, २०३९ मा अल्सरबाट लामो समय थलिएका, २०४१ मा पत्थरीको शल्यक्रिया गरेका र २०५७ मा मधुमेह रोगबाट आक्रान्त भई इन्सुलिन, औषधी र पथपरहेजमा नै बाँचिरहेका कृष्णप्रसाद पराजुली चौहत्तरौँ वसन्त पार गरिसक्दा पनि त्यत्तिकै फुर्तिला, जाँगरिला र घरमै बसी नेपाली भाषासाहित्यको सेवामा समर्पित छन् । उनीबाट नेपाली साहित्यले जे पाएको छ, त्यो आफैँमा अतुलनीय छ र अझै धेरै पाउने आशा गर्न सकिन्छ । अन्तमा नववर्ष २०६६ को पावन अवसरमा उनको दीर्घायु, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
कुमरोज, भरतपुर
(स्नातकाेत्तर नेपाली शाेधबाट)