मनमाया

कृष्णप्राद पराजुली (वि.सं. १९९२-२०७१) आधुनिक कालीन नेपाली साहित्यको विविध विधामा कलम चलाउने समसामयिक धाराका बहुमुखी प्रतिभा सम्पन्न व्यक्तित्व हुन् । पराजुलीकृत एकमात्र मनमाया महाकाव्य नेपाली साहित्यको महत्तम प्राप्ति हो । कवि आफैँको लामो समयको साधना र मिहिनेतबाट लेखन तथा सम्पादनमा वि.सं. २०७१ सालमा आएर ‘मेला बुक्स\’ प्रकाशनबाट प्रकाशित हुने सौभाग्य पाएको मनमाया महाकाव्य पछिल्लो समयको नेपाली साहित्यको गहनतम उपलब्धि मानिन्छ । नेपालको सामाजिक-सांस्कृतिक, राजनैतिक, आर्थिक विषयसम्बद्ध प्रस्तुत महाकाव्य नेपाली साहित्यको पछिल्लो मौलिक महाकाव्यात्मक कृति हो । उत्पाद्य सामाजिक विषयवस्तु, सजीव पात्रचयन र यथार्थ परिवेश चित्रण गरी नेपाली साहित्यको आधुनिक कालमा मनमाया जस्तो महत्त्वपूर्ण महाकाव्य रचना गर्ने कृष्णप्रसादको प्रतिभा विशिष्ट साबित भएको छ । नायक मनवीर र नायिका मायावतीको जीवनकहानीको सचित्र वर्णन गर्दै तत्कालीन समयको सामाजिक-सांस्कृतिक, राजनीतिक, आर्थिक र युद्धजनीन विश्वपरिवेशको चित्रण गर्न कवि पराजुली सफल भएका छन् । सत्तरीको दशकको नेपाली ठेट भाषाका साथै संस्कृत तत्सम् तद्भव र आगन्तुक आदि शब्दस्रोतलाई आफ्नो महाकाव्यमा प्रयोग गर्दै महाकाव्यात्मक उचाइ प्रदान गर्न सफल उनी सरल भाषाशैली र शब्द प्रयोगका दृष्टिले सफल महाकाव्यकार हुन् । उनले नायक मनवीरको राष्ट्रप्रेम, जातिप्रेम, वीरता, दुरदर्शिता, साहस, युद्धकौशल, कुशलता, जुझारूपन आदिलाई समेटेर मनमाया जस्तो सफल महाकाव्य नेपाली भाषामा तयार पारे । बहुल चरित्र तथा व्यापक परिवेश चित्रण गरी राष्ट्रियता, मानवता, स्वाभिमान, जातीय सहिष्णुताको सन्देश, प्रगामी चेत, प्रयोगवादीचेत, प्रेमप्रणय विषय, त्रिर्वर्गफल पुरूषार्थ आदिलाई काव्यमा सर्वत्र फैलाउने काम गरे । विभिन्न शब्दस्रोतका शब्दहरूलाई शास्त्रीय वर्णमात्रिक, लोकलय र गद्य गीतिलयमा ढालेर महाकाव्य रचना गरी उनले आफूलाई बहु विशेषतायुक्त महाकाव्यकारका साथै बहुल छन्दज्ञाताको परिचय प्रस्तुत गरे । शास्त्रीय वर्णमात्रिक, लोक र गद्य गीतिलयको प्रयोग भएको महाकाव्य बन्न मनमाया सफल भएको देखिन्छ ।

विविध खाले बिम्बप्रतीकहरूको व्यापक प्रयोगका साथै आलङ्कारिक भाषाशैलीको प्रयोगले मनमाया महाकाव्य विशिष्ट बन्न पुगेको छ । त्यसैगरी सम्पूर्ण किसिमका अलङ्कार र काव्य रसहरूको प्रयोग गरी महाकाव्यको गरिमा बढाउन कवि पराजुली सफल भएका छन् । मनवीर र मायावतीको प्रेमप्रणय विषयको कलात्मक प्रयोगबाट रति / प्रीति स्थायीभाव जागृत गराई शृङ्गार रसको परिपाक अत्यन्त कुशलताका साथ मनमाया महाकाव्यमा भएको छ । आख्यान तथा कवित्व प्रवाहका दृष्टिले अत्यन्त महत्त्वपूर्ण काव्यकृतिका रूपमा देखापरेको मनमाया महाकाव्यलाई नियाल्दा कवि पराजुलीको काव्यकौशल कलात्मक तथा प्रभावोत्तेजक देखिन्छ । सार्थक र औचित्यपूर्ण पात्रगत शीर्षकचयन, सामाजिक, उत्पाद्य विषयवस्तु सजीव चरित्र, व्यापक परिवेश, त्रिर्वर्ग उद्देश्य र विशिष्ट भाषाशैलीको प्रयोग गरेर कवि पराजुलीले आफ्नो उच्च महाकवित्वको प्रदर्शन गरेका छन् । लेखनकार्य समाप्त भए पश्चात् नै प्रकाशन कार्य भएकाले प्रकाशनका निम्ति यसले लामो समय कुर्नु नपर्दा नेपाली साहित्यको अर्को एक मौलिक महाकाव्यको श्रेय यस महाकाव्यले प्राप्त गरेको छ । ऐतिहासिक मूल्यका दृष्टिले महत्त्वपूर्ण महाकाव्य बन्ने सौभाग्य प्राप्त गरेको यो महाकाव्य गुणात्मक दृष्टिले समेत उच्च कोटिको रहेको छ । सम्पूर्ण महाकाव्यीय लक्षणहरूले युक्त प्रस्तुत महाकाव्य शास्त्रीय मान्यता अनुकूल बनेको छ । शीर्षकीकरण, आयाम, कथनपद्धति, संरचना, नायक, कथावस्तु, परिवेश, उद्देश्य, लय, रसभाव आदि सम्पूर्ण पक्षहरू पूर्वीय महाकाव्य मान्यतामा आधारित रहेर यस काव्यलाई संयोजन गरिएको छ । आध नेपाली समाजको विम्बन, विविध लयको समुचित प्रयोग, लयगत विविधता, प्रकृतिचित्रण, राष्ट्रियता, दार्शनिकता, जातीय एकता, सीमान्तीय पात्रप्रयोग, मानवतावाद, प्रगामीचेत, स्वच्छन्दतावादी चेत, समसामयिक चेत, उत्तरआधुनिक चेत, विशिष्ट शैलीशिल्प जस्ता विशेषताले मनमाया महाकाव्य सुसज्जित रहेको छ । नेपाली महाकाव्य परम्पराका सापेक्षतामा हेर्दा सामाजिक-ऐतिहासिक महत्त्वयुक्त हुनुका साथै विधातात्त्विक कोणबाट पनि उत्तिकै सशक्त महाकाव्यका रूपमा मनमाया महाकाव्यको स्थान सुरक्षित छ ।

नेपाल र नेपाली समाजको गौरवमय इतिहासको साक्षीका रूपमा युगौं युगसम्म अमर रहने कृतिका रूपमा मनमाया महाकाव्य देखिएको छ भने नेपाली साहित्य जगत्का

अविस्मरणीय स्रष्टाका रूपमा कवि कृष्णप्रसाद पराजुली उपस्थित भएका छन् । मनवीर र मायावतीका सश्चरित्रबाट राष्ट्रियता, स्वतन्त्रता, न्याय, मानव अधिकार, मानवतावाद, जातीय एकता जस्ता मानव सभ्यतालाई काव्यमार्फत् प्रस्तुत गर्दै नेपाली जनमानसलाई राष्ट्रप्रति आस्थावान् बनाउन कवि पराजुली सफल देखिन्छन् । केही वर्षको साधना र मिहिनेतको उपज मानिने यस महाकाव्यले उनको व्यक्तित्व र कृतित्व हाल आएर नेपाली साहित्याकाशमा छर्लङ्गिएको छ । मनमाया महाकाव्यलाई नेपाली साहित्यका पाठकहरूले कालान्तरसम्म पनि सम्झिरहने छन् भने कृष्णप्रसाद पराजुलीको व्यक्तित्व विशिष्ट साहित्यिक धरोरहरका रूपमा युगान्तरसम्म रहिरहने निश्चित प्रायः छ ।

प्रस्तुत शोधकार्यको निष्कर्षलाई अन्त्यमा बुँदागत रूपमा यसरी देखाउन सकिन्छः

१. कृष्णप्रसाद पराजुली नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् ।

२. नेपाली साहित्यमा सत्तरीको दशकमा मौलिक र उत्पाद्य विषयवस्तुको महाकाव्य सिर्जना गरेर उनी नेपाली साहित्यका महाकाव्यकार बने ।

३. मनमाया उत्तरआधुनिक काल तथा नेपाली साहित्यको महत्त्वपूर्ण प्राप्ति हो ।

४. ऐतिहासिकता, सामाजिकता तथा महाकाव्यीय लक्षणका दृष्टिले मनमाया महाकाव्यको स्थान उच्च छ ।

५. शास्त्रीय मान्यतालाई पूर्णतः परिपालन गरेर लेखिएको मनमाया पूर्ण महाकाव्य कृति बन्न सफल छ ।

६. मनमाया महाकाव्यका सापेक्षतामा कृष्णप्रसाद पराजुलीको महाकाव्यकारिता उल्लेखनीय देखापर्छ ।

७. मनमाया महाकाव्यले नेपाली महाकाव्यको यात्रालाई ऐतिहासिक बनाउँदै कृष्णप्रसाद पराजुलीको राष्ट्रियता, जातीय एकता, मानवता, वीरता, प्रेमप्रणय र मानव सभ्यतालाई उच्च महत्त्वका साथ ध्वनित गरेको छ ।

डिल्ली नेपाल

पूर्वीय काव्य सिद्धान्तका दृष्टिफे मनमाया महाकाव्यः शोधपत्र

Leave a Comment