जीवनमा मैले वरपर हेर्न थालेदेखि नै खोला देखेँ, हिमाल देखेँ, डाँडाकाँडा, बेसीफाँट देखेँ । खोलाको गीत धेरै सानो छँदैमा सुनेको हुँ । म जुन ठाउँमा जन्मेँ, त्यहाँ ठूलठूला खोला नभए पनि ससाना खोला थिए— झिकु र डाँफे । सङ्कल्पमा समेत पढिने तिनका पुराना नामचाहिँ ‘सुनका’ र ‘कनका’ हुन् । खेतीपाती गर्न ठूलठूला खोलाभन्दा ससाना खोला उपयोगी हुँदा रहेछन् भन्ने कुरो पाँचखाल उपत्यकाको खेतीपातीले देखाइरहेको थियो । ती खोलाहरूमा बाँध बाँधेर ठाउँ-ठाउँमा कुलाहरू बनाइएका थिए । खेतमा पानी ल्याउने कुला बनाउन यस्ता खोलामा सजिलो हुनु स्वाभाविकै थियो । कतै खोल्चो परेका ठाउँमा डुँडबाट पनि पानी तारिएको देखिन्थ्यो ।
ठूलठूला खोला (नदी) चाहिँ अलि पर थिए— तिनमा डुङ्गा लाग्थ्यो । कतैकतै झोलुङ्गे पुल पनि थिए । उत्तरपट्टि रहेका ठूला खोला वा ती नदी हुन्— इन्द्रावती र सुनकोसी । दक्षिणी भेगमा चाहिँ रोसी खोलो थियो । ससाना खोला, खहरेहरू त अरू पनि छन् । तिनको सानोठूलो विवरण मैले ‘पूर्व एक नम्बर’ ग्रन्थमा दिएको छु । खोला वा नदीको महŒव भएकैले हो, ठूलठूला नगरसमेत तिनका किनारमा रहँदै आएका छन् ।
पानीले के गर्दैन ? पानी खेतीको आधार त हुँदै हो, पानीकै सहयोगले इँट्टा बनाइन्छ, मूर्ति बनाइन्छ र यसले जीवनलाई रसिलो राखेर बचाउँछ पनि । ‘घामपानी, घामपानी’ त हाम्रो मुखैमाझुन्डिन्थ्यो । साँच्चै-साँच्चै पानी देखेर म दङ्ङ हुन्थे । केटाकेटीमा पानी मलाई सार्है मन पथ्र्यो । बर्सातमा पानी बर्सिएको म हेरिरहन्थेँ । पछि-पछि त पानी परेपछि मलाई लेख्न मन लाग्न थाल्यो । खान, लुगा धुन, सफा रहन, बाली लगाउन धेरै कुरामा पानी चाहिन्छ । पानी त जीवन नै पो रहेछ । तर गाउँठाउँमा भनेको ठाउँमा पानी नपाइने । वन, गोठालो जाँदा तिर्खाले असह्य भएपछि खोल्चीमा जमेको धमिलो पानी खोचीमा उभाएर खानुपथ्र्यो । जस्तो भए पनि तिर्खा त मेट्नै पथ्र्यो ।
धारा कहाँ छ, चिसो पानीको कुवा कहाँ छ— हामी खोज्दै जान्थ्यौँ । ‘शीतलपानी’ र ‘शयलपानी’ नाउँ गरेका कुवाको पानी कति मीठो ! अहिले धाराको पानी खाइन्छ, बोतलमा पनि पानी भरेर (मिनरल वाटर) यताउता पुर्याउने चलन आइसकेको छ, तर बालककालमा खाएको ती कुवाको पानीको स्वाद जिब्रोबाट मेटिएको छैन । प्रकृतिमा मानिसलाई मोहित पार्ने कत्रो शक्ति हुँदो रहेछ— सम्झेर म छक्क पर्छु ।
जिल्ला, थुम र खोला खुब प्रसिद्ध थिए त्यसताक । कुनै खोलाको छेउछाउ भाषा, संस्कृति, रहनसहन धेरै पक्षमा साम्य हुन्थ्यो । ‘खोलो तर्यो लौरो बिस्र्यो, बार्ह वर्षमा खोलो फर्कन्छ, खोला तरे भाषा सरे’ जस्ता उखान पनि चल्दै आए । खोलामा दुवाली फर्काएर माछा पनि मार्थे । खोलाकै कारणले ‘जँघार गर्नु’, ‘खोला फर्कनु’ जस्ता टुक्का बनेका छन् । कम्मरभन्दा माथिसम्म पानी आउने खोला तर्नुपर्यो भने नजिक हेर्नु हुँदो रहेछ । गोडा लकपकाउने र पल्टाउने पनि डर हुँदो रहेछ । पर-पर हेरेर पाइला चाल्यो भने तर्न सकिँदो रहेनछ । यो अनुभव मैले २०२८ सालतिर स्याङ्जादेखि बागलुङ जाँदा पाएको हुँ । ‘जँघार तर्नु’ यस्तै सन्दर्भमा आउने टुक्का हो । खोलो फराकिलो भएर फिँजारिएको ठाउँ जँघार हो । जँघार तर्नुको अभिप्राय त्यस्तै खोला तर्नु वा पार लाग्नु हो ।
त्यतिखेर धेरै मेहनत गर्नुपथ्र्यो, दुःख थियो, तर घरेलु सीपचाहिँ बेसी नै थियो कि जस्तो लाग्छ । मानिसहरू वनवन पुगेर सालका पात टिपेर ल्याउँथे । टपरी गाँस्थे, दुना र बोहोता गास्ँथे । बोहोता कति राम्रा हुन्थे ! बोहोतामा सजाएर राखिएका चीजबीज (दही, तरकारी आदि) निकै राम्रो लाग्थ्यो । बिहेबारी हुँदा सीप लगाई-लगाई बनाइएको ठहर त झन् औधी राम्रो हुन्थ्यो । मानिसहरू लुगा खरानीमा पिर्काले, मुङ्ग्राले चुटेर धुन्थे अथवा एक प्रकारको लेसाइलो माटो (जसलाई कमेरे वा मुल्तानी माटो भनिन्थ्यो) प्रयोग गरेर अनि रिट्ठाको फिँजमा लुगा धुने, नुहाउने गर्थे ।
मानिसहरू बाबियो काटेर डोरी, बरियो बनाउँथे; क्यात्तुकेका पाट चुटेर नाम्ला, दाम्ला बुन्ने काम सबै गाउँघरमा हुन्थ्यो । हुन त अहिले नाइलनका डोरी आए, सस्ता पनि होलान्, तर तिनमा आफ्नो सीप गाँसिएको छैन, श्रम परेको छैन । मैले गाउँघरमा तान चलेको देखेको थिएँ । धेरै-थोरै जति होस्, हाम्रो संस्कृति आफ्नै सीप र बुनोटमा थियो । अहिले सबै कुरा बाहिरबाट ओसारिन थालेको छ । आफ्नो सीप नपरेका वस्तुलाई सर्हाउनुको के अर्थ होला र !
नेपालमा खोला र खोलावरिपरिका बस्ती थुप्रै छन् । झिकुखोला, रोसीखोला, मरिनखोला, खानीखोला, अँधेरीखोला, कालीखोला आदि त्यस्ता केही नाम हुन् । त्यस्ता जुनसुकै खोलाको सेरोफेरोमा पुग्दा मलाई मग्न हुने बानी परेको छ । गाउँघर खोलावारि-खोलापारि जता गए पनि मानिस प्रकृतिका सन्तानजस्ता लाग्छन् । भौतिक उन्नतिको युगमा यस्ता कुरा वाहियात भन्लान् मानिसहरू । मचाहिँ आफ्नै साधनले भ्याउन सकिने कुरामा बढी उपयोगिता र आफ्नोपन देख्छु । अझ त्यही सेरोफेरोमा गुन्जिएका गीत, नाचगानको त के कुरा गर्नु ! तिनले मलाई मुहुनी नै लगाएका छन् ।
गाउँबेसी, उकालीओरालीमा जीवन हुन्छ र हुन्छ श्रमको पहिचान । तरतरी पसिना नछुटेको जिन्दगीको के अर्थ ! मानिसलाई अल्छी केले बनायो ? मानिस बल्छी तान्ने प्रवृत्तिमा मात्र किन लहसिन थाल्यो ? मानिसले नचाहिने सपना देख्न सिकेर होइन र ? हामीले प्रकृतिसँग सिक्ने र प्रकृतिबाट प्राप्त गर्न सकिने धेरै कुरा छन् । खोलाले हामीलाई पानी दिन्छ भने रूखले हामीलाई छाया दिन्छ । प्रकृतिले हामीलाई चिसो, न्यानो सबै थोक दिएको छ । प्रकृतिको त्यस्तो सेवामय वरदानमा हाम्रो पनि केही कर्तव्य हुनुपर्छ, तर खै, किन भन्न सक्तैनौँ हामीहरू ?
आफ्नै घाम र छायामा पसिना वरदान होस्
फुलाई देशको माया जिन्दगी शुभ याम होस् !
प्रकृति सुन्दर पनि हुन्छ, मायालु पनि हुन्छ । एकातिर यसले प्रेयसीले दिने सन्तोष दिन्छ, अर्कातिर आमाले दिने माया-ममता दिन्छ । वास्तवमा संस्कृति भनेको चालचलन मात्र होइन प्रकृतिको सिँगारपटार पनि हो, जीवनको स्याहारसुसार पनि हो ।
खोलालाई म विचारको प्रवाह पनि मान्छु । खोला सङ्लियो भने विचार सङ्लिन्छ । खोला धमिलियो भने विचार पनि दूषित हुन पुग्छ । अहिले काठमाडौँका बाग्मती र विष्णुमती ढलमती र नलमती भएका छन् । त्यसैको प्रभाव हो धेरै मानिसको विचार दूषित हुँदै छ ।
हामी देशभरि थुप्रै खोला, छाँगाछहरा भएर पनि पानी खान पाउँदैनौँ । हाम्रो देशमा पानीको सदुपयोग गर्नै सकिएको छैन । त्यसैले मैले आफैँ एउटा गीतमा भनेको छु—
जुन देशमा खोलैखोला त्यहीँ छैन पानी
बस्छन् मान्छे कसो गरी जिन्दगानी धानी !
छाँगो खस्छ लेकलेकै
बेसी हेर्यो खाली
पूmलै पनि फुल्छन् कहाँ
सुक्न थाल्यो डाली
जुन देशमा खोलैखोला त्यहीँ छैन पानी
धर्ती आफैँ रोएजस्तो भयो लाज मानी
त्यसैले अन्तमा के भनूँ भने— ए देशनिर्माणमा तम्सनेहरू हो ! नेपाल खोलानालाको देश भएजस्तै हरियालीको देश हुनुपर्यो, नेपालले अधिकांश नेपालीलाई खुसीयालीमा नचाउन सक्नुपर्यो । त्यसका निम्ति हामीले खोलाहरूलाई चिन्न सक्नुपर्छ, पानीलाई जीवन मान्न सक्नुपर्छ । वास्तवमा खोला जहाँको होस्, त्यो सङ्लो हुनुपर्छ, शुद्ध हुनुपर्छ, त्यसको पानी उपयोगितामा आउनुपर्छ । म जहिले पनि केटाकटीदेखि सुनेको लोकगीतको पङ्क्ति सम्झिरहन्छु, जुन लोकगीतको भित्री मर्मलाई बुझ्न सके त्यसमा दिव्य सन्देश छ, अमर प्रेरणा छ—
यो खोलाको सङ्लो पानी
खाइजाऊँ-खाइजाऊँ लाग्छ ।