मेरो लासलाई प्रज्ञा प्रतिष्ठानमा नलैजानू

बिर्से पनि मलाई तिमीले
मेरा गीतहरु बिर्सी नदिनू ।

२०४५ सालतिर पिताजीको रचनाको गिती एल्बम ‘आँखाभरि सपना’का गीतहरु म्युजिक नेपालमा रेकर्ड भइरहेका थिए । माथि उल्लिखित गीत गाउने क्रममा गायक दिनेश सुब्बाले भन्नु भएको थियो — ‘पराजुलीजीको अवसानपछि बजाइने गीत हुनेछ यो ।’ त्यतिखेर अवसानको कुरा सुन्दा अप्रिय लागे पनि दिनेशजीको भनाइ गत बिहीबार सत्य सावित भयो । रोगसँग जुध्दाजुध्दै पिताजीले ७९ वर्षको उमेरमा चैत २० गते देहत्याग गर्नु भयो । दिनेश सुब्बाले गाएको सो गीत मिडियाहरुमा त्यति बजेन बरु उदितनारायण र नातिकाजी बजिरहे यो हप्ता ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिँडे म’ मार्फत् ।
पिताजीसँगको ४३ वर्षे सहयात्रामा मैले तीतामीठा धेरै अनुभव सँगालेँ । आरोह अवरोह भोगेँ । ती सबैलाई लिपिबद्ध गर्ने हो भने एउटा सिङ्गो किताब तयार हुन्छ । यतिखेर भने म एउटा प्रसङ्ग कोट्याउँछु ।
पिताजीको अवसानपछि हामीले पारिवारिक जमघटमै पशुपतिको आर्यघाटमा दाहसंस्कार गर्यौँ । त्यो पनि उहाँको निधन भएको केही घण्टामै । धेरैलाई लागेको रहेछ — उहाँको लासलाई भोलिपल्ट प्रज्ञा प्रतिष्ठानमा राखिने छ । हुनसक्छ केही राजनीतिक दलहरुले लासमाथि झण्डा ओढाउने अभीष्ट पनि पालेका होलान् । तर सबैलाई थाह नहुन सक्छ पिताजीले हामीलाई पटकपटक भन्नु भएको थियो — ‘मेरो लासलाई प्रज्ञा प्रतिष्ठानमा नलैजानू ।’
यसो भन्नुको कारण खोतल्दै जाँदा म निकै भावुक हुन्छु । म फर्केर २०४० सालतिर पुग्छु, जुनबेला म पिताजीसँगै बनारसमा थिएँ । पिताजी प्रज्ञा प्रतिष्ठानको शब्दकोशको सम्पादनका क्रममा त्यहाँ पुग्नु भएको थियो । म कक्षा ९ मा पढ्थेँ र मेरो हिउँदे छुट्टि चलिरहेको थियो । मलाई पिताजीले सहयोगीका रुपमा बनारस लिएर जानुभएको थियो । बनारसको भार्गव भुषण प्रेसमा शब्दकोशका काम हुँदै थियो । सो प्रेसले मात्र सबै काम नभ्याएकाले दिल्लीमा पनि शब्दकोशको काम चलिरहेको थियो । बुबासँगै शब्दकोशका कामका लागि आउनुभएका गोपीकृष्ण शर्मा, कुमारधर शर्मा र बद्रीचन्द्र खनाल दिल्लीतिरको जिम्मेवारी सम्हाल्न थाल्नुभयो । हामी बाबुछोरा बनारसमै रह्यौँ । हामी बस्थ्याँै साहित्यकार दुर्गाप्रसाद श्रेष्ठको बहिनीको घर दूधविनायकमा । मैले दुई महिनासम्म शब्दकोशको प्रुफ सम्पादनमा पिताजीलाई सघाएँ । बिहान बेलुकी बाबुछोराका लागि खाना बनाउने काम समेत गरेँ ।
१४ वर्षे त्यो उमेरमा मलाई समयमै खान मन लाग्थ्यो । पिताजी भन्ने घन्टौँ कुराइदिनु हुन्थ्यो । काम नसकेसम्म उहाँलाई भोक र प्यासको पत्तो हुँदैनथ्यो । म बेलुकी सुत्दा पिताजी हातमा पानामा चुरोट च्यापेर शब्दकोशका शब्दशब्दसँगै खेलि रहनुहुन्थ्यो । बिहान म उठ्दा पनि उहाँ शब्दकोशकै काममा भिडिरहनु हुन्थ्यो । म त छक्क मात्र पर्थें । यसरी शरीरलाई थिल्थिलो बनाएर रातभर नसुती काम गर्न हुँदैन भनेर सल्लाह दिने बुद्धि ममा पलाइसकेको थिएन । बरु म भार्गव भुषण प्रेसका मानिसहरु कुरा गरेको सुन्थँे — ‘यिनका पिताजीजैसा मिहिनेत करनेवाले आदमी हमलोगोँ ने अभितक दिखा नहीँ ।’
शब्दकोशको काममा पिताजी शुरुदेखि अन्त्यसम्म जति खट्नुभयो, राम्रो रचना मीठो नेपालीका प्रकाशनका क्रममा त्यति खट्नुभएन होला ।
शब्दकोश मानक हुनपर्छ, स्तरीय हुनुपर्छ भनेर दिलोज्यान दिनुभयो । शब्दकोशका लागि शब्दसंकलन, अर्थलेखन, संशोधनदेखि मुद्रणसम्मका काममा पिताजीले सक्दो मिहिनेत गर्नुभयो । पछि सल्लाहकार र विशेष सम्पादकमा अनेकन नाम जोडिएपनि उक्त शब्दकोशमा पिताजी एक्लैको ८० प्रतिशत योगदान रहेको छ भन्न म हिच्किचाउँदिन ।
यसरी नेपाली बृहत शब्दकोशका लागि रगत पसिना नै बगाउनुमा पिताजीको कुनै स्वार्थ थिएन । पाएको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्ने बानी नै प्रमुख कारण थियो । पिताजी शब्दकोशको काम सकेर २०४० चैतमा काठमाडौँ फर्कनु भयो । म आफैँ उहाँलाई लिन एयरपोर्ट गएँ । उहाँको अनुहार जाज्वल्यमान देखिन्थ्यो । काम फत्ते भइसकेपछि पिताजी असीम आनन्दको अनुभूति गर्नुहुन्थ्यो । उहाँको अनुहारमा त्यही कुरा प्रतिविम्बित भइरहेको थियो । तर यो खुसी धेरै दिन टिकेन । उहाँले खुसीसँगै पीडा पनि लिएर आउनु भएको रहेछ । उहाँलाई केही पछि अल्सर भयो । बिरामीका श्रृङ्खलाहरु त्यहीँबाट शुरु हुँदै गए । त्यसकै केही वर्षमा गलब्लाडरको स्टोन देखियो । अप्रेसन गर्नु पर्यो । अनि फेरि मधुमेहले आक्रमण गर्यो । स्ट्रोक पनि भयो । पछिल्लो चरणमा निमोनियाले ग्रसित भएर पिताजी थलिनुभयो ।
पिताजीले प्रज्ञाप्रतिष्ठानको नेपाली बृहत शब्दकोशका लागि मात्र काम गर्नु भएन । ‘कविता’ पत्रिकाको सम्पादन देखि बालचन्द्र शर्माको सम्पादन रहेको शब्दकोशमा पनि उत्तिकै लागि पर्नुभयो । पिताजीले प्रज्ञालाई अत्यन्त माया गर्नु भयो प्रज्ञालाई सरस्वतीको मन्दिर मान्नुभयो तर प्रज्ञाप्रतिष्ठानले पिताजीलाई कहिल्यै नजिकको ठानेन ।
पिताजीमा चाकडी र भनसुन गर्ने बानी थिएन । उहाँलाई माया गर्नेले पनि उहाँको मिहिनेतलाई कदर गरेर उचित स्थान दिने जमर्को गरेनन् । बरु मीठा शब्दले प्रशंसा गरेर उहाँलाई भुलाइदिए । जोकोहीले पनि प्रसंशा गर्दा दङ्ग पर्ने पिताजीको एउटा कमजोरी नै थियो ।
पछि त प्रज्ञा प्रतिष्ठान राजनीतिक दलका कार्यकर्तालाई नियुक्ति गर्ने ठाउँ बन्यो । प्रगतिशील विचारधारा राखे पनि कुनै एक राजनीतिक दलको कार्यकर्ता बन्न नसकेकाले पिताजीका लागि प्रज्ञाप्रतिष्ठानको ढोका सँधैका लागि बन्द भयो । उहाँ कहिल्यै प्राज्ञ बनाइनु भएन ।
हुन सक्छ यसैको असन्तुष्टी उहाँमा थियो । जीवनका अन्तिम चरणतिर कतिपय समारोहहरुमा बोल्ने क्रममा उहाँले ‘प्रज्ञा प्रतिष्ठान अब मुर्दाघर मात्र भयो’ पनि भन्नुभएको छ । कविता पत्रिकाको सम्पादकबाट हटेपछि उहाँलाई प्रज्ञाप्रतिष्ठानप्रति कस्तो वितृष्णा जागेछ भने २०२५ सालमा कोश योजनामा काम गर्न सूर्यविक्रम ज्ञवालीले डाक्दा पनि जानुभएनछ ।
म पिताजीलाई बारम्बार भन्ने गर्थें— ‘प्रज्ञा प्रतिष्ठानको गरिमा निकै घटिसक्यो पिताजी । तपाई त अब सार्वजनीन हुनुहुन्छ । हरेक नेपालीको मनका प्राज्ञ ।’
पिताजी मतिर हेरेर मुसुक्क मुस्काउनुहुन्थ्यो । उहाँको हातमा चियाको कप थमाएर म पनि मुस्काउँथे ।
चिया सुरुप्प पार्दै उहाँ फेरि भन्नुहुन्थ्यो —‘मेरो लासलाई चाहिँ प्रज्ञा प्रतिष्ठानमा नलैजानू नि ।’

Leave a Comment