नेपाली बालसाहित्यमा गुणात्मकतामा जोड दिनैपर्छ

विगतको तुलनामा नेपाली बालसाहित्यमा नयाँ लेखकहरूको उपस्थिति बढेको छ, प्रकाशकहरू थपिएका छन्, बालसाहित्यविषयक छलफलहरू चलिरहेका छन् र संख्यात्मक रुपमा बाल साहित्यिक कृतिहरूको प्रकाशन पनि बढेको छ ।
किताब किनेर बाँड्ने र डिजिटल किताबमा बालबालिकाको पहुँच पु¥याउन गैरसरकारी संस्थाहरूको प्रयास पनि जारी छ । यसले पनि होला नेपाली बालसाहित्यमा हरेक महिना नयाँ नयाँ कृतिहरू थपिइरहेका छन् । दुखको कुरा, नेपाली बालसाहित्यको संख्यात्मक तुलनामा गुणात्मक अभिवृद्धि हुन भने सकिरहेको छैन । कतिपय बाल साहित्यिक कृति हेर्दा लज्जाबोध हुने स्थिति पनि छ । यतिका वर्ष के लेखिरहेका छौँ भनेर बालसाहित्यका लेखकले गम्भीर भएर सोच्न ढिला गर्नु हुँदैन ।
कतिपयले अंग्रेजी र अन्य भाषाका बालसाहित्यको अनुवादलाई आफ्नो मौलिक कृति भनिरहेका छन् । बालसाहित्यक कृतिको अभाव रहेको परिप्रेक्ष्यमा पहिले हामीले यो अवस्थालाई बुझेर पनि आँखा चिम्लियौँ । किनभने नेपाली बालबालिकाले पढ्न त पाइरहेका छन् नि भन्ने लाग्थ्यो अब भने बेढङ्गी र अपुरो अनुवाद भन्दा हामीले मौलिक सिर्जनामा जोड दिनै पर्छ ।
अर्को कुरा हामी लेखकको लक्ष्य बालबालिका नभएर गैरसरकारी संस्था भए । बालबालिकाको आवश्यकता र अभिरुचि, उनीहरूको ग्रहण क्षमता बुझ्नतिर भन्दा पनि ती संस्थाहरूले कस्ता कृतिहरू किनिदिन्छन्् भन्नेतिर लेखक र प्रकाशकको झुकाव रह्यो । विगतको दशकमा नेपाली बालसाहित्यको गुणात्मक अभिवृद्धिका लागि यस्ता कदम सकारात्मक रहेनन् ।
बालसाहित्यमा पाइला चाल्नुअघि प्रशस्त बालसाहित्यमा पढेर बालसाहित्यलाई गहिरोसँग नबुझी र हत्तपत्त लेखिहाल्न र प्रकाशन गर्न हतारिँदा नेपाली बालसाहित्यमा नयाँपन आउन सकेन । चारवटा किताब लेखेपछि आफूलाई विज्ञ ठान्दै नयाँ लेखकलाई प्रशिक्षण दिन थाल्ने परम्पराको विकास भयो, अनि बालसाहित्य उँभो लाग्न नसकेको हो ।
सबैभन्दा पहिले लेखक इमान्दार हुनै पर्छ । सयवटा किताब लेख्न उद्धत हुने हैन, बरु सय किताब पढेर एउटा गतिलो किताब लेख्ने प्रयासमा लाग्नुपर्छ । लेखकले लेखेका कुरा बारम्बार संशोधन गर्नुपर्छ । ती किताबहरू लक्षित बालबालिकासम्म पु¥याएर परीक्षण गर्नुपर्छ । प्रकाशकले पनि राम्रो सम्पादकबाट सम्पादन गरेर मात्र प्रकाशनमा ल्याउनुको कुनै विकल्प छैन ।
स्थिति अझै बिग्रिसकेको छैन । बालसाहित्यमा अब संख्यात्मकतामा भन्दा गुणात्मकतामा जोड दिनैपर्छ । सबै क्षेत्रबाट बालसाहित्यलाई सतही रूपमा हैन अत्यन्त महत्त्वका साथ हेरिनुपर्छ । नेपाली बालबालिकालाई उमेर सुहाउँदा स्तरीय बालसाहित्यको औधि खाँचो छ ।

Leave a Comment