बादलका बुट्टाहरू

प्रकाशक : शाश्वत पराजुली, काठमाडौं

पृष्ठसंख्याः १७६

आकारः डिमाई ।

संस्करणः पहिलो २०४५, तेस्रो २०६१

आस्थाको अर्को नाम हो जीवन र जगत्प्रति रहेको आफ्नो अटल विश्वास । त्यसलाई उनले कतै श्रमिकका पसिनामा, कतै अपेक्षित र बेसहारा वर्गका उत्थानमा, कतै सामाजिक कुरीति, शोषण र ढोङ्गी चालचलनका विरुद्धमा, कतै राष्ट्रिय भावका अभिव्यक्तिका रूप दिएका देखिन्छन् । अहिले उनका तिनै विश्वासहरू जीवन, राष्ट्र र मानवीय मूल्यमा सँगालिन आएका छन् ।

—ठाकुर पराजुली

\’बादलका बुट्टाहरू\’ कवि कृष्णप्रसाद पराजुलीका फुटकर कविताहरूको सङ्ग्रह हो । दुई खण्डमा विभाजित प्रस्तुत सङ्ग्रहमा छन्दका पैंतीसवटा र स्वच्छन्दका पैंतीसवटा गरी जम्मा सत्तरीवटा कविता समाविष्ट छन् । २०११ सालदेखि पत्रपत्रिकामा छापिएका तथा छरिएर रहेका कविताहरूको सङ्ग्रह हुन पाएकाले यसबाट कवि पराजुलीको कवितायात्राका चरणगत विकास, प्रवृत्ति र मोडहरूलाई बुझ्न सजिलो भएको छ र त्यस क्रममा भूमिकाखण्डमा रहेको समालोचकीय लेख पनि जिकै उपयुक्त र अध्ययनपूर्ण हुन गएको छ । प्रारम्भदेखि नै कवि पराजुलीको सृजनात्मकता चिल्लो बान्की लिएर आएको थियो भन्ने कुराको एउटा दृष्टान्त प्रस्तुत कविता सङ्ग्रह हो । यस कविता सङ्ग्रहका कविताहरूमा जागरण र संघर्षका झिल्काहरू, जीवनभोगाइका विभिन्न अनुभूति, माटो र जीवनप्रतिको अटल आस्था र विश्वास संवेद्य तथा कलात्मक रूपमा मुखरित भएर आएका छन् । त्यसैले \”प्राकृतिक विम्ब र प्रतीकद्वारा व्यञ्जना गरिएका अभिव्यक्तिमा कहिल्यै नओइलाउने जीवन र कहिल्यै नडगमगाउने आस्थाहरूलाई जगेर्ना गर्न कवि साधनारत देखिन्छन् । उनका विश्वासहरू जीवन, राष्ट्र र मानवीय मूल्यमा सँगालिन आएका छन्\” भन्ने समालोचक ठाकुर पराजुलीको दृष्टिकोणसँग पूर्ण सहमत हुन सकिन्छ ।

—रामचन्द्र गौतम

Leave a Comment