रमाइला नानी

पूर्व एक नम्बर’ हेरेपछि र देखेपछि
 गोविन्द भट्ट

पूर्व एक नम्बर त्यही नाउँ भएको जिल्लाको परिचयग्रन्थ हो । त्यस जिल्लाको भौगोलिक परिचय, व्यवसाय-खेती, उद्योगधन्दा र व्यापार, जिल्लाकेन्द्र र मुख्य बस्तीहरू, ऐतिहासिक झलक, प्राकृतिक सुन्दरता र दर्शनीय स्थल, शैक्षिक जागरण, कला र संस्कृति, साहित्य र साहित्यकार, जात्रा, मेला र मन्दिर सबैको विस्तृत ज्ञान दिनको साथै यस पुस्तकले त्यस जिल्लाका वर्तमान समस्याहरू, आवश्यकताहरू र भविष्यमा योजनाहरूको पनि राम्रो परिचय दिन्छ । हरेक विषयमा लेखकले परिश्रमसाथ सामग्री बटुल्नुभएको छ ।
मैले आजसम्म देखेका पुस्तकहरूमा पूर्व एक नम्बर आफ्नो ढङ्गको एउटै पुस्तक हो जसमा कुनै जिल्लाको यस्तो विस्तृत र विद्वत्तापूणर् वणर्न गरिएको होस् । प्रागैतिहासिक कालदेखि लिएर अत्याधुनिक कालसम्मका विवरण यस पुस्तकमा सम्मिलित छन् र भविष्यका योजनाहरूको उल्लेख पनि छ । भौगोलिक परिचयबाट थालेर वर्तमानका आवश्यकता र योजनाहरूको सूक्ष्म विवरणका साथै जिल्लाको नक्सासमेत राखिदिएर लेखकले वैज्ञानिक पद्धतिका मागहरू पूरा गर्नुभएको छ । त्यति मात्र हैन गेटअप, छपाइ र बीचबीचमा जिल्लाभित्र पर्ने सुप्रसिद्ध स्थान र योजनाहरूका सुन्दर तस्बिरहरू राखिदिएको हुनाले पुस्तक झन् आकर्षक र उपयोगी हुन गएको छ । पूर्व एक नम्बरलाई विस्तृत ढङ्गबाट चिनाइदिएकाले लेखक धेरै-धेरै धन्यवादका पात्र हुनहुन्छ ।
देशका विभिन्न जिल्ला र अञ्चलका लेखक-बन्धुहरूले पनि यसै गरी आआफ्ना जिल्ला वा अञ्चलबारे यस्तै खोजपूणर् र जनजीवनका सबै अङ्गलाई अँगाल्ने खालका पुस्तकहरू लेखिदिनुहुन श्री पराजुलीले बाटो देखाइदिनुभएकोमा उहाँलाई बधाई छ ।
यस पुस्तकले साहित्यमा आफ्नो बेग्लै ठाउँ राख्नेछ । कथा र कविताका सङ्ग्रहरू तयार पार्नु उति गार्‍हो छैन, तर यस्ता किसिमका पुस्तकहरूका निम्ति अग्घोर परिश्रम र लगनका साथै अन्वेषण-प्रवृत्ति र तथ्याङ्कप्रति सचेष्टता पनि हुनु अनिवार्य छ, जो सजिलो काम हैन । नेपाली साहित्यको एक अभावलाई यसले पूरा गरेको छ ।
यस समीक्षकले जिल्ला र त्यसका जनजीवनबारे कुनै यस्तो क्षेत्र भेटेन जसलाई लेखकले छुनुभएको छैन । विद्वत्ता र परिश्रम दुवैको यो राम्रो र सफल नुमना हो । पाठ्यपुस्तक हुने सबै गुण यसमा छन् र साधारण पाठकलाई ज्ञान र मनोरञ्जन दुवै दिन यो सफल भएको छ । श्री पराजुलीबाट यस्तै अरू कृतिहरूको हामीलाई आशा छ । भाषा र प्रुफबारे उहाँको सचेष्टता पनि अनुकरणीय छ ।

भानु ः २/६, २०२२ चैत

पूर्व एक नम्बर जिल्लामा अशिक्षामाथि, यहाँ विकास नहुने कारणहरूमाथि विजय पाउनका निमित्त, चेतना फिँजाउने कामका निमित्त पूर्व एक नम्बर पुस्तकको पुनःसंस्करण नयाँ रूपमा आएको छ । त्यो यस जिल्लाको उज्ज्वल भविष्यको विजयको प्रतीक हो । त्यसो हुनाले पनि आजको घटस्थापनाको दिन र यो किताबको विमोचनको दिन मिल्यो, बडो सान्दर्भिक कुरा लाग्छ । साहित्यकार जसलाई मनमा एउटा भावना आयो, लेख्यो, पुग्यो भन्ने ठानिन्छ, तर होइन । साहित्यमा सामाजिक पक्ष हुन्छ, सामाजिक आधार हुन्छ र त्यसले समाजमा परिवर्तन ल्याउन सक्छ । त्यस्तो साहित्य सृजना गरेको खण्डमा समाजले त्यसलाई स्वागत गर्छ । यो सत्य पनि आजको दिन अझै राम्ररी प्रकट भयो । कुनै साहित्यकारले, कुनै लेखकले आफ्ना जनता अथवा देशलाई सम्झेर तिनलाई काम लाग्ने कुरा लेख्छ भने त्यसको समर्थन र सहयोग गर्नेहरूको कुनै कमी हुँदैन । पैसाको पनि कमी हुँदैन । त्यस्तो व्यक्तिलाई सम्मानको पनि कमी हुँदैन र प्रेरणाको पनि कमी हुँदैन । आज पराजुलीको यस पुस्तकको विमोचनले पनि यो आत्मसत्यलाई देखाएको छ ।
उहाँले पूर्व एक नम्बरका जनताका निम्ति घरघर, दैलादैलामा गएर अनुसन्धान गरेर, अध्ययन गरेर यो पुस्तकको रचना गर्नुभयो । पूर्व एक नम्बरका जनताले त्यसै गरी स्वागत गरे । सहयोगीका रूपमा त्यसलाई छपाउन प्रयास गरेर २०२२ सालमा निस्केको पुस्तकले आज आएर नयाँ रूप लियो । यसको अर्थ राम्रो चीज लेखेको खण्डमा, जनतालाई काम लाग्ने चीज लेखेको खण्डमा जनताले त्यसलाई स्वागत गर्छन् । त्यो मर्दैन । त्यसको बारम्बार पुनर्जन्म भइरहन्छ । यो कुरा पनि यस विमोचनले देखाएको छ । पूर्व एक नम्बर हाम्रो देशको एउटा ज्यादै महŒवपूणर् क्षेत्र हो । अघि भन्नुभयो— अरनिकोको कुरा छ, वसन्त शर्माको कुरा छ, अरू धेरैका कुरा छन् । २००७ सालदेखि नै लिऔँ भने पनि पूर्वक एक नम्बरले हाम्रो राष्ट्रिय इतिहासमा, राष्ट्रिय संस्कृतिको जागरणमा धेरै ठूलो योगदान गरेको छ । त्यसो हुनाले यहाँ जनता बधाईका पात्र छन् । राजनीतिको क्षेत्रमा, संस्कृतिको क्षेत्रमा, कलाको क्षेत्रमा यसले यस्ता छोराहरू जन्माएको छ, यस्ता छोरीहरू जन्माएको छ तिनीहरू राष्ट्रिय सम्पत्ति नै भइसकेका छन् । हामीले यसभन्दा अघिका पुराना पुस्ताहरूलाई बिर्सनु हुँदैन । हामीले राजदास बादेजीको कुरा सुन्यौँ, उहाँले आफ्नो बाबुको श्राद्ध गर्ने पैसाबाट हृदयचन्द्रसिंह प्रधानको पुस्तक छपाउने एउटा ठूलो साहस गर्नुभयो । नरबहादुर भारतीले देशको नाम राख्नुभयो । मैले पनि ती व्यक्तिमध्येमा कोही-कोहीलाई चिन्ने सौभाग्य पाएको थिएँ । सात सालको क्रान्तिदेखि यताका जसजसले यस जिल्लाको विकासमा योगदान गर्नुभो ती समाजसेवीका विषयमा केही पढ्ने मौका पाएँ । त्यसमा हाम्रा मूर्धन्य लेखक कृष्णप्रसाद पराजुली एक हुनुहुन्छ ।
कृष्णप्रसाद पराजुलीको सबैभन्दा ठूलो विशेषता उहाँकै साहित्यिक सृजनाको विशेषता हो । अरू-अरूले पनि भन्नुभएको छ, उहाँको पुस्तकको विशेषताको बारेमा भन्नै पर्दैन । पूर्व एक नम्बरको विषयमा त्यति राम्रो परिचय दिने हालसम्म कुनै पुस्तक निस्केको थिएन । अरू जिल्लाहरूले पनि यो कुरा पूर्व एक नम्बरबाट सिक्नुपर्छ । आज भर्खरै बिहानको कुरा हो । पश्चिमतिरको एक जिल्लामा मेरा एक जना साथी हुनुहुन्छ । उहाँले पनि यस्तै आफ्नो जिल्लाको परिचय दिने एउटा पुस्तक निकाल्ने विचार गर्नुभएछ । त्यसका निम्ति उहाँहरूले “तीन लाख रुपैयाँ हामी जम्मा गर्छौं । हाम्रो जिल्लाको एउटा अध्ययन-अनुसन्धान गरेर यस्तै पुस्तक लेखियोस्” भनेर प्रयास गर्नुभएछ । तर त्यो पुस्तक निस्कन सकेन । जब पूर्व एक नम्बर आजभन्दा अट्ठाइस वर्षअगाडि लेखेर तयार भएको र छापिएको पुुस्तकलाई आज फेरि बारम्बार जनताको माग हुँदा र यहाँको सहयोगमा, यहाँका साहित्यप्रेमीहरूको सहयोगमा, यहाँका समाजसेवीहरूको सहयोगमा फेरि निस्क्यो । यो कुरा सुनेर उहाँले भन्नुभयो— “पूर्व एक नम्बर साँच्ची नै हामीभन्दा अगाडि रहेछ । हामीले तीन लाख रुपैयाँ जम्मा गरेर, मानिसहरू जम्मा गरेर पनि गर्न सकेका छैनौँ । यस्तै एउटा पुस्तक हाम्रो जिल्लाको बारेमा लेखिदिन पाएदेखि हामीलाई पनि आफ्नो जिल्लाको बारेमा थाहा हुन्थ्यो । हामीलाई आफ्नै जिल्लाको बारेमा थाहा छैन । यसको इतिहास के हो ? यसको भूगोल के हो ? यसको सामाजिक अवस्था के छ ? यसका वास्तविक समस्याहरू के छन् ? हामीलाई केही थाहा छैन । हामी काठमाडौँमा बस्छौँ । त्यही जिल्लामा जन्मिए पनि हामीलाई आफ्नो जिल्लाकै विषयमा थाहा छैन । पराजुलीजीले लेखेको पुस्तकजस्तो हाम्रो जिल्लाका कुनै लेखकले पनि एउटा पुस्तक लेखिदिए हुन्थ्यो । यसरी यस पुस्तकले हाम्रो देशका अरू जिल्लाहरूलाई पनि, हाम्रा लेखकहरूलाई पनि ठूलो प्रेरणा दिएको छ र दिनेछ । वास्तवमा हामी नेपाली भन्छौँ, नेपाललाई हामीले चिनेका छैनौँ; नेपाललाई हामीले बुझेको छैनौँ । नेपालको अध्ययन हामीले गरेको छैन ।
यसरी एउटा ग्रासोन्मुख लेभलबाट, तल्लो तहबाट, स्थानीय तहबाट एक-एक केलाएर, अनुसन्धान गरेर, अध्ययन गरेर पुस्तक तयार गर्नु ज्यादै ठूलो कुरा हो । साहित्य भनेको खालि भावना मात्रै होइन । साहित्य भनेको अनुसन्धानको पनि कुरा हो । अध्ययनको पनि कुरा हो । पूर्व एक नम्बर आफ्नो क्षेत्रमा, आफ्नो विषयमा एउटा उत्कृष्ट साहित्यको नमुना हो । साहित्य लेखिनुपर्छ, कविता पनि लेखिनुपर्छ, कथा लेखिनुपर्छ, उपन्यास लेखिनुपर्छ । तिनको आआफ्नो महŒव छ । तर ऐतिहासिक अनुसन्धानको, समाजशास्त्रको, इतिहासशास्त्रको, विज्ञानको, सौन्दर्यशास्त्रको, कलाको विषयमा हामीकहाँ धेरै कम पुस्तक लेखिएका छन् । यसले के देखाउँछ भने हाम्रो सभ्यता, हाम्रो संस्कृति अलि पछि नै छ— अरू देशभन्दा, त्यस कारण यसतर्फ पराजुलीले जुन उदाहरण राखिदिनुभयो अघि नै मैले भनिसकेको छु अरू जिल्लाका मानिस पनि यसबाट प्रेरित भएका छन् । यो ठूलो कुरा हो । यो एउटा राम्रो योगदान हो ।…

सार्वजनिक समारोहको टेप उतारेर प्रकाशित
सुनकोसी— १, २०५१ बाट (संशोधित)

Leave a Comment